Jump to content

Page:Laxmi nibandhasangraha.pdf/33

From Nepali Proofreaders
This page has been proofread

भारतका शिशुकालका मीठा कथाहरू सत्य झैं झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला-नाला झैं गुनगुनाए ।

भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं, फेरि सीता हरिनुभयो, फेरि रावण मारियो । हामीले झोलुङ्गाको भाषामा नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान्‌ लागेर उठ्ने भए । अपठितले पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किदै उनका राम्रा क्षणमा सपना देख्न लागे । यहाँ केही थियो–जो अघि थिएन–केही खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र दिव्यताको भारतको रस निचोरिएको थियो । नेपालको बारीमा एउटा सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी, प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्डूकगणहरू यी उनको विशाल प्रदानका महत्त्व दूरातिक्रमण बुझ्नदेखि सदा टाढा छौं ।

साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्‌, नेपाली हृदयको श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा रामायण लेख्थे, तर उनको आत्मा जेलबाहिर थियो । उनको माधुर्य सरलतामा छ–त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति टाढा थिए, जति एक ध्रुवबाट अर्को ध्रुव । उनी सच्चा ब्राहमण थिएर उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन्‌ उनी के गरिरहेथे, तर हामी जान्दछौं–उनीले हाम्रा निमित्त के गरेर गए । उनको