Jump to content

Page:Laxmi nibandhasangraha.pdf/26

From Nepali Proofreaders
This page has been proofread

सुकुलमाथि

मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैंचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो ।

कोठाभन्दा बगैँचामा मनुष्य प्रकृतिको नजीक भएजस्तो हुन्छ र हरियो रङको समीपमा उसलाई बीसौं शताब्दी छाडेर चटाईको भर्खर आविष्कार भइरहेको युगको दार्शनिक बनेर जाईको बोटनेर घोरिरहेझौं लाग्दछ ।

मलाई त्यस वेला सच्चा नेपाली भएझैँ लाग्यो । मेच र टेबिलको अत्याचारबाट छुटेको वेलामा मैले याद पाएँ कि पहिलेको प्राकृतिक अवस्थामा मानवजाति दुई खुट्टा झुन्ड्याएर बनकर जस्तो गरी बस्तो रहेछ।

मलाई यस्तो लाग्यो कि मेचमा बस्ने व्यक्तिमा चञ्चलता हुन्छ, किनकि अप्राकृतिक तवरले आधुनिक आसनीमा गोडा पिंडौलालाई प्राकृतिक तालीम छैन । ऋषिमुनिहरू पलेटी कसेर बस्तथे समाहित पद्यासनमा, एक भाग शरीर पनि रौंप्रमाण हिल्दैनथ्यो । उनीहरू मेरुदण्ड सीधा गरेर खटिया राखी पढ्ने या ध्यान गर्ने गर्दथे तर मेचविराजमान भलादमीका कि त खुट्टा हल्लिन्छन्‌ कि पीङ खेल्दछन्‌, टेबिलको र मेचको बीचमा कुच्रिएका अङ्गहरू ठिङ्गुरामा हालेजस्ता हुन्छन्‌ र अभागी आधुनिकताको कैदीलाई कहिले यता हिल्न मन लाग्छ कहिले उता । फर्कंदा पनि खर्याकखुरुक आवाज नगरी फर्कन सक्तैन र यसको मुख्य अवगुण त्यस बेला थाहा हुन्छ, जब भाषापरिषद्मा मग्न भएर मिहीन विचारहरू उब्जाइरहेको लेखनदासका मगजमा गिर्खा खर्खराउँछन्‌ ।

फेरि टेबिलले या डेस्कले मान्छेको शिर घोप्टयाउँछ र छातीको भरले लेख्न लगाउँछ । तर खटिया कति प्राकृतिक छ उसैले बुझ्दछ जसले प्रयोग गर्यो । तर आजकालका टिठाहरूसँग खालि घण्टौंसम्म