Jump to content

Page:Laxmi nibandhasangraha.pdf/209

From Nepali Proofreaders
This page has not been proofread

मान्छेलाई घडीबाट हानि

घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन् । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल थाहा छैन । उहिले–उहिले यो सिउरदार चरो समय देखाउने चिजहरुमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर उहिलेका मान्छेलाई आकाशमा जादु मात्रै थिएन । समयको सङ्केत पनि थियो । छायाको अध्ययन बिसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान् छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक सङ्केतहरुबाट समयको विचार गर्न मानिसहरु हामीजस्ता लापरबाही थिएनन् र यो कुरा स्पष्टतया बहसबिना मालुम हुन्छ कि घडीको आविष्कारले मनुष्य जातिलाई हानिसिवाय केही गरेन ।

हामीहरुले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौँ । हाम्रो मगजमा मेसिनको अत्याचार बढ्यो र स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेशा वञ्चित छ । घडी विना विचार गर्ने व्यासजी बने, घडी लिएर विचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन् । हामी यन्त्र बनाउँछौं, उनीहरु मन्त्र बनाउँथे । जहाँ आधुनिक पुरुषहरुलाई पाङ्ग्रा र कमानीको तालिममा काम गर्नु पर्दछ, पहिलेका मान्छेहरु प्रकृतिका सङ्केत र सूचनाहरु पाएर विशालको तालिममा काम गर्दथे ।

प्राचीन युगमा मनुष्यहरु त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरु समयलाई यसरी टुक्रा पार्दैनथे र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत गर्दैनथे । हाम्रो आंशिक दृष्टि छ, उनीहरुको समष्टिरुपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा ऋषि