Jump to content

Page:Laxmi nibandhasangraha.pdf/200

From Nepali Proofreaders
This page has not been proofread

जुवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोह्र ओटा कीराको गुँड लिएर सच्चा स्वदेशी तवरले भाग्य–परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजिक र उत्तिकै रोचक छ । कुशलताका क्रिडाहरुभन्दा यसमा भाग्यको उलटपुलट झन् रोचक छ, झन् अविदितको मोहनी धारण गर्दछ र निखरा पूर्वीय भाग्य–सिद्धान्तको रङ लिन्छ । पहिले नै नतिजा अन्दाज गरिन सकिनु जुवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छट्टु र चतुरलाई नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना हुन सक्तछ र अर्काको धन सितैं लिन खोजको बापतमा अर्काले दिइदिन पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । आफूखुशी खतरामा पस र साहसमुताविक आफ्नो भाग्य गर, खालि हरामज्यादाहरु मात्रै बिग्रन्छन् । जीवनको सर्वस्व नै खेलमा लगेर थचार्न र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरु सच्चा हरल जुवाडे हुन्छन् ।