तिनका नाटीकुटीहरु अन्धविश्वास र स्वास्नी मान्छेपना भनेर पन्छाइदिन्छौं नफरतको नोकले । तर जस्तो पिठोको रेखीहरुमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरुबाट संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि हामी अज्ञानको घमण्डले जननी हृदय रेखाहरुलाई निरर्थक सम्झन्छौं । त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् ।
मलाई ता यस्तो लाग्छ कि जजनीभावमा पृथ्वी दुधभरिला बालाहरु झुलाउँछिन्, जननीभावमा पृथ्वी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ मूर्ति दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला पार्दछौं । अङ्ग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी जगज्जननी खँदिलो रुपमा सत्ता राख्तछिन् । हाम्रो हिन्दूधर्म पशुमा माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरु जातिभन्दा श्रेष्ठ छौं । अहिंसाको विशाल तत्व भारतको हो । हाम्रो आर्यसभ्यताको श्रेष्ठता नै जननी भावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको थियो ।