नसाका क्रिया थिए । एक–एक दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरुको चमत्कारी आवश्यता थियो । तर तँ बुद्धू थिइस् :तैंले क्षणहरुलाई अवहेलना गरिस् । त्यो दिव्य कलाका सूक्ष्म सूत्रहरुका मधुर सङ्केतमा मृदुल हुन सकिनस् । त्यहाँ सच्च दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन खोज्दथें ! तँ खालि मोहन प्राप्तिमा फुर्फुरिएर भौतिक नाताहरुमा सन्तुष्ट बनिस् । तेरा मसीहाहरु र ऋषिहरु त्यसका आभासमा धर्म सिकाउँथे, विश्व–धारणका नियमहरु ! तँ झर्किइस्, तैंले क्षण–क्षण दिव्य मृदु रेखा पक्रने शील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको बज्र फोरें ! अनि तँ सत्यको दिव्य होशले रोइस् !'
सबै धर्म जननीका हृदयभित्र लुकेका छन् । धारणा गर्नु धर्म हो; र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीं सब धर्म विकासिन्छ । अरु बगमफुस; हड्डी घोट्ने, दाँत किटाहा बोक्रेपनाहरुका अहङ्कार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक–शक्ति हो जसले उनको छातीका चिचिराहरुलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको तुफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम हुन्छ र जुन धर्मले शिशुरक्षणको दिव्य सूक्ष्मता देखाउँछ, त्यही धर्म संसारको सच्चा धर्म हो । अरु धर्ममा खिचातानी छन् । मृदुलता नै ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरु छन् । जीवनको एकै दिव्य ध्येय छ, अनन्तलाई क्षणहरुमा होशदार सुकुमार आदरहरु जो महात्मालाई अलभ्य छ ।
सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्गो घेरामा जोड्नु– घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ । म भाव या भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पहिल्ला दर्जाका क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा इच्छाका क्रियाहरुको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैं भावनाका अनुभूतिहरुसँग बोल्दछ । पुरुषहरु ज्यादा जोड्नु–घटाउनुमा व्यस्त छन् । उनीहरु ज्यादा बोक्रे र लडाका हुन्छन् । स्त्रीहरु भावना गर्दछन्, रसाउँछन्, हामीहरु