मलाई मानिसहरु 'सपनाखोरी' भन्ने नाम देलाख्, यदि म भनूँ कि म मानव–भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्गीहरुसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको सुरु सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँग्लिन्छु, म विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कुचित हुन्नँ, मेरा सहानुभूति सीमित हुँदैनन् ।
मैले अघि बताएँ हिंसामा मानव–जातिलाई भयङ्कर खतरा छ । साम्य नभएका असङ्गत सङ्कीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना र ध्येयहरुमा छरिनु र सधैं रुनु बिसौं शताब्दीको अभाग छ । मानिस एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरु यहाँ बल्किन्नन्, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरु धोत्रिन्छन्, सबै सत्यध्येयी हुँदैनन् । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न जहाँ भ्रातृभावको विकास छैन, छापाका भङ्राटाउके झुटा सहानुभूतिहरु हामीलाई काम लाग्दैनन् । यो विशाल मानवशक्ति ध्रुव पाउँदैनन् । अनि खण्डन, मण्डन र संघर्षमा काटमारका प्रदर्शनीहरु देखाउँछ । अफ मान्छेले बुझेका छ्रनन्– ती समरहरु खटिरा हुन् । समष्टि शरीरमा फैलिएपछि मानव–रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ । यी भीषण लक्षण हुन् । हामी यिनलाई एलोपेथिक इजाजले ठण्डा बनाउन चाहन्छौं ! मानवशक्तिले सत्यको र एक्यको दिशा पाएन, गडबडियो हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र प्रवृत्ति नपाई बाँदर–नजिकै हुन्छौं ।
यो जीवन एक वीणा हो जहाँ विवादहरु बजाउन दुःख हुन्छ । हामी मृदुलको कलाले आनन्द पाउँछौं । यी नसाहरुमा अवहेलना नराख, खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो, तारहरु ठिकसँग छोऊ यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्, यहाँ मृदुललाई बोलाउन सक्नुमा महिमा छ ।
म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरुलाई म सहानुभूति गर्दछु । जस्तो दिव्य करुणा गर्दछ । कीराहरु नमार्नू र कीटाणु नमार्नू