Jump to content

Page:Laxmi nibandhasangraha.pdf/170

From Nepali Proofreaders
This page has not been proofread

मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन् । यो स्वाद कृत्रिमको छकावट हो । हामी सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ । तर दाँजेर हेर, मृदुले छोएका क्षणहरु र क्रूरको पग्लिंदो रक्तस्वाद– मानव–जिभ्रोमा ! त्यहाँ आसमान जमिन छ !

खाना त्यो हो, जसमा सबभन्दा कम परपीडन छ । धानलाई पनि दुःख हुन्छ । फल हाँगाको हातले चढाएको भए पनि आफैं नखसुञ्जेल टिप्नु स्वार्थको हात लम्बाए जस्तो लाग्दछ । कोही ऋषिहरु बोटमनि फल झर्नको आशामा चातक झैं बस्ता हुन् । उनलाई टिप्न गाह्रो लाग्दो हो, कन्दमूल खोस्रने मन्त्रहरु होलान्, जस्तो समिधा काट्ने र भात खाने । ऋषिहरु खानालाई सबै प्राणीको पेटमा चढाउँथे र अन्नलाई विश्वहितैषी आत्मत्यागमा मन्त्र सुनाएर खाँदा हुन् । स्वार्थ घुसेको खाना अँध्यारो खाना हो ।

ऋषिले आफ्नो बादलपारि घामको उज्यालो उच्चताबाट हेर्दा संसार कस्तो–कस्तो देखिंदो हो ? साङ्ग्रो, छोटो किचिरमिचिर दृश्यमा सिल्मिलाउँदा जीवनहरु खालि ‘खाँ ! खाँ !’ गरेर मुख बाउँदै दाह्रा किट्दै लुछाचुँडीलाई जीवन भनेर चिची र पापा पिल्सिंदै गरिरहेको घीनलाग्दो नाटक देखिंदो हो । दुनियाँ खाँ खाँ–मा छ । उता चोर्छ, उता धूर्त्याइँ गर्छ, उता हत्या, मासु सिंगार्छ–कालका निमित्त ।

ऋषिको आत्माले भन्दो हो, ‘हाय ! अन्धा जीव हो ! यो उचाइमा अहिंसाको अमृत छ । यहाँ केही नखानु र नखोस्नुको मिहीन माधुर्य छ । यहाँ मृदुलको मन्दिर छ । सुनका घण्टीहरु बज्दछन् ।’

आत्मौपम्य नै ऋषित्व हो । जब म दुःख दिन्छु म भुल्दछु कि मलाई पनि दुःख हुन्छ । यस जीवनको प्यासी जादुमा मेरो विश्व र ब्रह्म छ । म अरुलाई मार्दा भुल्दछु कि उसलाई पनि त्यस्तै तिर्सना छ । म जीवनका निमित्त कृतज्ञ छैन, कृतघ्न बन्दछु । आफू त्यो चाहन्छु जो म अरुबाट खोस्तछु । दिव्य दृष्टिमा खोस्ने मानिसलाई जीवनमा अधिकार छैन । मलाई त्यस बेलासम्म जिउनको अधिकार छ, जबसम्म म परजीवनको आदर गर्न सामर्थ्य देखाउँछु । तब यो जीवन चोरी हो, डकैती हो, तर यसलाई सत्य र धर्मको तत्वमा बलिदान दिएर पखालिने मौका नदिएको भए म मुर्दा भइसक्ने थिएँ ।