छ केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदैछ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ हरहमेशा दिंदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर ब्युँझिन चाहन्नँ । मलाई आदतले त्यसै लागिरहेछ ?
अहिले ती लुकेका भावनाहरु कहाँ–कहाँबाट खानुखुसी गर्न आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ–टोकूँपनको क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको पग्लिँदो स्वाद आएर थुकूँ–थुकूँ जस्तो लाग्छ, मलाई पखालिन मन लाग्छ, कहीं गएर चोबलिऊँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं यो सडिरहेछ– कोरीको शरीर जस्तो ! म के अरु चिज चाहन्छु, अरु जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरु वन–पोखरी र चराहरुबाट ध्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरु मलाई सराप्छन् ।
कोही भन्छन्, 'तैंले अमृतको स्वादसँग विषको स्वाद साटिस् । स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ मृदुलको मोहनीबाट वञ्चित छस् ।'
मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा छ । तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुधार र सफाइ छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।
बाघको बच्चालाई पैताला चटाएको उखान मानव–प्रकृतिलाई लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता–तुस्तै नृशंस हुन सक्तछु । संसारमा समर हुनु केटाकेटीलाई मासु–रगतका परिकार चढाउने आदतहरुबाट आएको जस्तो लाग्दछ । मान्छे अरुहरुसँग आफ्नो खाना मिलाउँछ र आफ्नो आँसुहरुले उद्धार माग्दछ ।
म अहिले बुझ्दछु– मैले भुल गरेको थिएँ । 'योग्यको अतिजीविता' सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंस्रक हुन सक्तैन । मेरो कमजोरीले हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजिक पुर्याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले–कहिले तर्सिन्छ ।