तर कुनाकाप्चा र अखबारले नोटिस नलिने ठाउँमा बोलेर निष्काम भावले अविचलित आनन्दसँग मौनसेवा गर्न चाहँदैनन्, उनीहरू ढोलक पिट्न चाहन्छन्, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा नाम चढाइमाग्नु उनको ध्येय हुन्छ, न कि सुधार । यदि म यस्ता ठाउँमा यिनीहरूसँग बस्न र काम गर्न पाऊँ, म कति मूल्यको बन्दथें । कम से कम आफ्नै नजरमा एक जन्तुलाई विशाल जीवनको राम्रो होश दिन पाए, म एक नवीन संसारको स्रष्टा झैं आफूलाई मान्दथें । त्यहाँ जीवनलाई रेखा दिनु, रंग दिनु, प्रशस्त थियो । आफै त्यसै ठाउँमा घनिष्ठ प्रभावका रूपमा नघुसी त्यहाँ सुधार हुँदैनथ्यो । 'आ !' मैले सोचें, 'माथिबाट ताराहरूले झल्का दिन्थे, म एकान्तमा स्वर्गमा झिल्काहरू टिप्तथें र त्यहाँ जीवनदीपावली बनाएर एउटा जीवनको जूवा खेल्ने थिएँ । म प्रकृतिको नजीक रहन्थेँ, विशाल र रहस्यमयको छेउमा, र त्यहाँ मानवहृदयपटमा चित्रकारी सिक्तथें र यिनीहरूलाई संसारको उज्यालो देखाएर जीवनको मूल्य लिन्थें ।' मलाई एक गरीबलाई सर्वस्व दिन मन लाग्छ, अथवा कम से कम दुईचार सय एकै पल्टमा ! त्यसको कृतज्ञता हेर्न ! त्यसको सम्भावना हेर्न ।
मलाई पनि उही कमजोरी छँदैछ जो अरू शिक्षित पुरुषहरू अनुभव गर्दछन्-समयको, स्थानको, गृहस्थी बन्धनको इत्यादि । दुनियाँ हामी कमजोरउपर सदा प्रभावकारी छँदैछ । हामी जित्न सक्तैनौं, दुनियाँले जित्छ । हामी शक्ति बढाऊँ भनेर आत्मशक्ति व्यय गरिरहेछौं, विलास भनेर दुःख पाइरहेछौं, प्रसिद्धि भनेर सुधारलाई उधार बनाउँछौं । समयको बोलावट, स्थानको आह्वान र आत्माका आमन्त्रणलाई हामी कमजोर मनले पर पन्साउँछौं, सदा उनान्सयबाट सयका आशमा र साङ्ग्रा कुराको पासोमा हामी त्यसै बिकम्मा भएर जान्छौं । एक जीवन बनाउनु एक संसार रच्नु झैं छ, तैपनि हामी आफ्नै जीवन बनाउन खोजेर खाल्टामा पर्दछौं । चट्ट मनमा राम्रो संकल्प कहिले आए पनि हामी दबाउँछौँ, किनकि यसलाई कार्यहरूमा परिणत गर्नु नै कठिनताको उकालो छ भन्ने हामीलाई पहिले नै विशाल याद छ । यसै गरी आत्मा देखिन्छन् र जो ईश्वर दीनका चेहराबाट पुकारिरहेथ्यो, ऊ थाकेर आखिर मौन रहन्छ ।
सुधार त्यहाँ हुन सक्तैन, जहाँ जीवन अक्षरको रेखासम्म चिन्न