Jump to content

Page:Laxmi nibandhasangraha.pdf/16

From Nepali Proofreaders
This page has been proofread

अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सकिनँ ।

म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्‌। पृथ्वीले करबलले सिस्नु र मकै दिन्छिन्‌ । यस्तो ठाउँमा मनुष्य किन आयो होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्‌, र जीवन भन्नु खालि कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।

मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन्‌ र तिनमा सांग्राको लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ । त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर सुधारकहरू तुरही हुन्छन्‌, योगी हुँदैनन्‌ । उनीहरू भीडअगाडि गर्जन्छन्‌,