Jump to content

Page:Laxmi nibandhasangraha.pdf/158

From Nepali Proofreaders
This page has been proofread

उसका सूक्ष्म कला छन्‌ । ऊ सतीको भयङ्कर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र गलाइको दशा दिएका छन्‌ ।

तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू भालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्तःकरण ठीक पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिं पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र ऊ छलको ज्यादा प्रशंसा गर्दछ । ऊ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा हिंडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैं दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्‌, सुधा उसका आकर्षणमा फस्तछन्‌ र बदमाशहरू नक्कल गर्दछन्‌ ।

वेश्याहरू उसको पैसा धुत्न चाहन्छन्‌ र झूटा नखराले उसका प्रेमी बन्दछन्‌ । त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन्‌ जहाँ गुण्डो आफूलाई मोहनको मोहनी भन्ने सम्झन्छ ।

भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा– कति नीचापनको चिह्न हो, बुझ्नेले बुझ्दछन्‌ । हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौं । ऊ महमा लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन्‌ । उसमा मपाइँ- मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए ऊ आफूलाई कति घृणा गर्दो होला । ऊ आफ्नो आत्मालाई अन्याय गरिरहेछ । उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्‌; छरिन्छन्‌ । ऊ साङ्ग्रा ताक र सस्ता नापमा चलिरहेछ । ऊ आफ्नो अन्तर्दुर्गतिलाई रङिलो