ईश्वर ! म कृतज्ञ छु' भनेर अहंकारको पापले काँपेर संसार छोड्नु नै सच्चाको मरण हो ।तेरो नामलाई कल्की किन चाहियो ? निर्मलता नै धन हो। रङहरू बोक्सीका छलहरू हुन् । भो वाक्क छु म चाहन्नँ कीर्ति, म दुनियाँको पयरको धूलो हुन चाहन्छु, सबले टेकून् मेरै छातीमाथि मलाई आनन्द त्यहाँ मिल्छ, जहाँ संसार आनन्द पाउँछ । अरू जिऊन्, मैले जिइसकें; मेरा आनन्दहरू क्षणलाई अनन्तको बत्ती बनाएर आउँथे । मैले भोगें ती वेदनाहरू, जसमा कम मानिस सौख लिन्छन् । मैले एकबाजि संसार उचालेर हेरें । अब अरू उचालून्–आफ्नो महत्त्वाकांक्षाका निमित्त । खालि दुनियाँको पयरको धूलो हुन चाहन्छु–दुनियाँ जिउँदो रहेर चलिरहेको देख्नको सौखमा ।
छोटो हुनुमा मजा छ; अरूको महत्त्व कुखुरे कल्की लाएर नाचेको देख्न पाइन्छ । राग शान्त हुनामा आनन्द छ; अरूहरूको गाईजात्रा देख्न पाइन्छ । नलिनुमा प्रशस्तता छ । अरूहरूले मर्कटमुट्टाको पकडमा कपाल खौरिमागेको देख्न पाइन्छ। तब आ आ, दुनियाँ ! को चाहन्छ मेरो टोपी ? को मेरो धोती ? म नङ्गा बन्न चाहन्छु । शरीर छोडाउने उपाय भए मलाई बताइदेओ ! म एक कुनामा गएर अँधेरीबाट चियाऊँ–दुनियाँ कसरी हिंड्दछ, कसरी पिउँछ, कसरी मेरो भूलभुलैयाहरूमा परेर तिनमा लरबरिन्छ, कसरी वैराग्यतिर आखिर फर्किन्छ । जीवन-नशाका अनन्त स्पन्दनहरू मलाई भूतपूर्व अनुभवहरू जगाउँदै आनन्द दिन्छन् । अरूले त्यही आनन्द पाएको देख्न म चाहन्छु; जो मैले पाएथें । के लेख्छस् त ग्वाङ्ग्रा ? यहाँ केही छैन ।