छ । तैपनि हात पसार्छु, रुन्छु, ले भन्छु, नपाए च्याँठ्ठिन्छु; तब चक्करहरूमा चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित गर्दछन् । छिः जित्नु ! म हार्न चाहन्छु ! म अब सुख चाहन्नँ, चाहन्छु सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा गर्देछु । छिः विषयलम्पटता ! छिः त्यो मह, जहाँ पखेटा टाँसिन्छन् र जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति गरुँलामा जान चाहन्नँ, यताबाट खोस्न उताबाट मार्ने, झगडा गर्न च्याँठ्ठिन्नँ । यही शरीरको बोक्रोले त यसरी छकिएँ, आफूलाई यही भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के बुझ्न सक्तछौं ? जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप- रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्, जहाँ यसले आफ्नो ज्योति परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान, यही मानवविद्या; नासमझको ठेला, 'प'को राज्य सधैं अँध्यारोमा छ । म छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो । मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति आनन्द । 'लौ ला, तँ नै ले सब संसार। नाङ्गा मुठी फुकाएर चल्दछु बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो बोकेर हिंड्न चाहन्छ । के बोकिस् काना ! आखिर संसार त ज्यौंका त्यौं रहेकै छ, न रायो बनाइस्, न रूख, न तैंले एउटा तारा थपिस् ! तर यी सबको गह्रौं भारी बोकिस् । बेकार रुन्छस् । आँसुको काम छैन, त्यहाँसम्म हृदय पग्लिंदैन र सत्यलाई मात्र पक्रेर मिथ्या छोड्न खोज्दैन । तँ आगोलाई शीतल भन्थिस्, अमृतलाई विष । तँलाई अन्नले खायो तैंले अन्न खाइनस्, तँलाई लुगाले लगायो, तैंले लाइनस्, बेकारमा आफू खेलौना बन्छस् । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन् । त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर मनका लड्डू बनाउन उर्लिरहेछन् । ठूलो सानो हो, सानो ठूलो । बेताल हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस् । ए, आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा ! छोडिदे आशा । त्यो आशा जो संसारिक शृङ्गारहरू पहिरेर तँलाई भुलाउन आउँछे । बाँकी राख् केही, जो अर्पण हुन सकोस् । 'मलाई भयो, पुग्यो
Page:Laxmi nibandhasangraha.pdf/150
Appearance