खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झैं सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्, भयभीत रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्, गाडालाई कुतुकुती र पहाडलाई रायो ।
बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत छैन, नशाहरू आफैं चढ्दछन्, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन् र संसारको भौतिक कर्कशता अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्, 'सुखेन अस्वाप्सं नकिञ्चिदवेदिषम् !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढुकीमा सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त सुनसानमा एकान्त तपस्वी बनोस् ! किनकि आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत अन्तःकरणले जित्तछ र बहीखातामा अक्षर चढ्न कम या बन्दै हुन्छ ।
आखिर सुख भनेको कहाँ छ–यदि आँखा चिम्लनुमा छैन भने ! संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन् । हामी असुन्दरका अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख पाउँछौं र नव-नव झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्याउनाका पखेटाहरू स्वर्गनजीक पुग्दछन् । म जति कुम्भकर्णको नजीक आउन लागेको हुन्छु, उति नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही हुँदैनन् । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन् । ऋषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुनेः ।' जति बाह्य विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन् जस्तो लाग्दछ । आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू मेरा कुरा बुझ्लान्, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ र ! त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी ओह्राल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्कासम्म विचरण गर्दै गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव