दरबार निभेपछि निशाले स्तब्ध सुनसानको मजाको अनुभव गरेझैं उनी शून्यको विलासमा लाग्दथे । कति राजाले आफ्नो राज्य अनुभवी तवरले ध्वस्त पार्न सक्तछन् । कति राजाहरू सुनसानमा स्वेच्छाभासिनी नवीन नगरीहरू निर्माण गर्ने सामर्थ्य देखाउन सक्तछन् । उनी रक्तपातविना, कल्पनाका सूक्ष्म क्रियाहरूद्वारा सुषुप्तिको देशमा ब्रह्मा, बिष्णु, शिव तीनौटैका अंश बनेर सिर्जन, पालन र विनाश गर्ने गर्दथे । यस्तो नवजगन्निर्माणको रुचि देखाउने एक विश्वामित्र मात्र थिए क्या र ? तर उनी विपनाद्वारा विफल भए, हाम्रा कुम्भकर्ण सपनाद्वारा सफल हुन्थे रे।
हामी त्यस्ता राजालाई हरहमेशा प्रशंसा गर्दछौं जो अनायास राज्य सृष्टि गर्दछन्, जो एक झिमिकमा शहर रच्तछन्, जो निमेषमा नामेट पनि गर्न सक्तछन् । मलाई एक दिन नभएको एउटा आदर्श राज्य बनाउन मन लाग्यो र बिछ्यौनामा पल्टें । आँखा चिम्लेर सिर्जनाको सचेत भावनाले चित्रकार खँदिलो पार्न खोजें, अलि-अलि बन्ला-बन्लामा आफै बालुवाको घर झैं मेटिएर गयो । मनोवैज्ञानिक विश्लेषण गर्दा मैले बुझें कि सचेतको दोष थियो । किनकि सपना सचेत तवरले विकास लिंदारहेछन् र हाम्रा आदर्शान्वेषक सृजनात्मक अन्तर्लोचनमा विपनाको निक्कै दबावट रहँदो रहेछ । त्यसैले कविले लेखूँ भनेर लेखिंदो रहेनछ, र सब आनुभाविक 'मानववाद'हरू हरहमेशा विफल हुँदारहेछन् । तर कुम्भकर्ण प्राकृतिक क्रियामा यस्ता सपना पनि देख्ताहुन् जहाँ हामी बीसौं शताब्दीलाई झक मार्न र तरङ्गित हुन फुरसतै छैन ।
"हे निद्रा, तिमी हौ सुशील सँगिनी
प्यारो सबै देशको ।
जादू स्वर्गिय जो सुटुक्क छ छुने
एकान्तकी उर्वशी ! ॥"
भनेर कुनै अंग्रेजी पढेका नेपाली कविले कतै लेखेको देखेजस्तो लाग्छ ! हामी प्राचीनका जहाजी बन्यौं भने कुम्भकर्णको आत्माले यसै गरी गीत गाइरहेको सुन्नेथियौं । त्यस बेला जब लङ्का खलबलाइरहेकी थिइन्, रावणकी राज्यश्री ढलमलाइरहेकी थिइन् र सीता तुलबुलाइरहेकी थिइन्; त्यस वेला रावण गालामा हात लगाएर आसन्न मरणको विषादमय तरङ्गमा थिए, राक्षसहरूका जननी बच्चाका कपाल मुसार्दै आँसुका ढिका