Jump to content

Page:Laxmi nibandhasangraha.pdf/124

From Nepali Proofreaders
This page has been proofread

विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्याँकिदिन्छ । ढिंडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : 'अहा ! माइली ! आजको कुरौनी त के भन्नुपर्यो खै ? स्वर्गको गाईको दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई धन्यवाद चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो कृतज्ञताको उद्गार निकाल्छ र म त्यस वासलाई सधैं सम्झनेछु जहाँ घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका पहेंला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन्‌ भन्दै थिएँ अब थाहा पाएँ– फुल्दा रहेछन्‌ हाँडीमा ।'

कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित गर्दछिन्‌, क्षुद्रलाई विशाल बनाइदिन्छिन्‌, क्षणिकबाट अनन्तको झल्का निकाल्दछिन्‌, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन्‌ । कल्पना तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू सामग्री मात्र हुन्‌ र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा मरेका जस्ता हुन्छन्‌ । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको जादूगरी बोलाउँदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्थ्य भिन्न- भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका झिलमिलावटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा अनिर्वचनीय अनुभवहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्‌, कति ठडिन्छन्‌ भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्‌, र चुरोटको धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर उही रात एउटा भावुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्‌, तर कानो काजीले जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ ।