स्वर्गका देउताहरू रुन्छन्, किनकि दिव्य प्रेमको सुनौला प्रदानलाई तिनै आँखा निरादरको दृष्टि दिन्छन् जसद्वारा देवताहरू मानव-हृदयमा सानो स्वर्ग दिनदिनै बनाउन चाहन्थे । सूर्योदयबाट मिल्ने आनन्द छाडेर म टक्सारको पछि दौड्दछु र प्रकृतिको जादूलाई नदेखेर भन्दछु कि 'मानव- जीवन खालि दुःखको भण्डार हो ।'
त्यस मनुष्यले के आनन्द अनुभव गर्यो जसले फूललाई फूलभन्दा बढ्ता केही देखेन, जसले सपनाको विमान चढेर र तरङ्गहरूका मधुर लहरहरूमा गुलाफको फूल झैं ढलीमली खेल्दै चलेन ? जसका निमित्त हावामा बस्ती छैन र बादलमा शहर छैनन् । 'एक टुक्रा खरी' को उपर प्रबन्ध लेखेर संसारलाई चकित गराउन सक्ने मनुष्यहरूसँग दाँज्दा ती मनुष्य मनुष्य नै होइनन् जो खरीका पहाडहरू पाए पनि बोधो व्यापारको दृष्टिले मात्र हेर्दछन् । मलाई यस्तो लाग्दछ कि कुवेरभन्दा गरीब व्यक्ति दुनियाँमा कतै पनि छैन, र गरीब-धनीका भेदहरू मनुष्यभित्र रहने नासमझको सहज बुद्धिमा निर्भर भएको जस्तो लाग्दछ । अक्सर गरेर ती घनीहरू ती गरीबभन्दा धेरै गरीब हुन्छन् जो बाह्य रङ्गदार सामग्रीहरूका अभावउपर दिव्य कल्पनाले भूषित झोपडीका हरेक फूलमा स्वर्गका परीहरू नाचेका देख्तछन्, जसलाई जूनमा सपना ओर्लेर आउँछ, जो उदय-अस्तका सुनौला दृश्यमा हृदयलाई कुबेरभन्दा धनी बनाएर परमेश्वरको सोझो चैतन्यले गद्गदाएर उठ्तछन् । कल्पनाको कमी हुने पुरुषहरू भित्तामा रङ्गरोगन लगाउन चाहन्छन्, चित्रकारीले सिंगार्दछन् तर कल्पनादार धनी-गरीब आफ्नो झुत्रैझात्रे कोरन-किरिन लिउन उप्केको बुट्टे भित्तामा सहस्ररजनीभन्दा रमाइला कथाहरू देख्तछ र तिनैद्वारा आलस्यको लहडीपनमा अनेक चित्रकारीहरू पाउँछ । प्रकृतिले 'अदला- बदला' को नियम लिएजस्तो विदित हुन्छ र जहाँ घनीहरू बाह्य भिलिमिलीमा बोधा यन्त्र झैं रमाउन्नन् । गरीबहरूलाई त्यो जादू- जोशिला कल्पना दिएको छ जसले दारिद्र्यउपर हँस्सी उडाउँछ र मनुष्यलाई देवताहरूको विलासनजीक पृर्याउँछ । हामी सूर्य उदायो भन्दछौं तर ज्यापू भन्दछ 'स्व स्व ! भगवान् कस्टो सुन जस्टो भएर उडायो !' गरीब बाहुनचरीहरू श्राद्धको चुकानीलाई तारीफ गरी गरी, कहिले चौरासी व्यञ्जनमा एक व्यञ्जन बनाउँछन्, कहिले भन्दछन् कि स्वर्गका देवताहरू यत्तिको मीठो चीज खान पाउँदैनन् र यो पृथिवीको