Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/46

From Nepali Proofreaders
This page has been validated
मुरली-मोह
गाना


धन्य अहा ! त्यो कृष्णको मुरली ।
रननन रननन रन्कन लाग्यो कति राम्रो सुर ली ॥

इन्द्रिय ! सब पस कर्ण-विवरण, कर्ण ! बिला त्यो मुरली-सुरमा
मुरलीसुर आ हृदयाऽम्बरमा कत्ति पनि नगली ॥

जलचर नभचर सब चुप लाग, तृण तरु लहरा कर्ण-पुट माग ।
जड पत्थर पनि जडता त्याग, सुनीरहू है नचली ॥

बिन्ति छ बादल ! पर जा, पर जा, चाँदनि ! तँ पनि अलिछिन घर जा ।
मारुत ! सिरिसिरि पल्लव नबजा मुटुमा घुस्यो बिजुली ॥

यमुना ! यमुना ! तिमी पनि आऊ, बस भुमरीमय कान झुकाउ ।
'लेख' हृदय-बिच त्यो सुर भाऊ, अगम मधुर सकली ॥