Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/275

From Nepali Proofreaders
This page has not been proofread

(१९)
डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे ।
जायाजात लिनालाई आएका फौजझैँ बसे ॥

(२०)
कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर ।
गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर ॥

(२१)
राँका लिएर आएका डाँका-तुल्य कडा बनी ।
हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी ॥

(२२)
दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी ।
झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी ॥

(२३)
बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे ।
ताजा रगतका धारा खाजा पारे भुँडी कसे ॥

(२४)
म शिकार थिएँ यौटा ती शिकारी कडोरन ।
रक्त मानू बिलो लाए थोपाथोपा गनीकन ॥

(२५)
खाई भतेर फालेका टपरीमा बडा छुचा ।
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा ॥