This page has not been proofread
(१६)
कतै घना वन, बाँझो, पर्ती
कतै अबादी रसिलो धर्ती ।
कतै उज्याला जलका माला
कलकल खलखल खोलानाला ॥
(१७)
वारी पारी गर्नुपर्दा
विकट नदी वा खोला तर्दा ।
साना फड्के, साँघू डुङ्गा
कतै तुइन अद्भुत झोलुङ्गा ॥
(१८)
तलतल बेसी, माथी गाम
पाठ परेको बस्ने ठाम ।
किसिमकिसिमका स्वाँरा बारी
ठामठाममा गोठ तयारी ॥
(१९)
नागबेलिया धर्का जस्ता
गामगाममा पस्ने रस्ता ।
थोरै तेर्छा धेरै गाढा
वरपर घरघर बाच्छा पाडा ॥