This page has not been proofread
(२०)
कस्ले मेरो मगज यसरी गिल्गिल्याई निचोर्यो ?
कस्ले निद्राजनित सुखको शान्ति-सर्वस्व चोर्यो ?
भन्ने चिन्ता लिइकन जती गम्दछू बारबार
उत्ती देख्छु सकल धमिलो जिन्दगी नै उजार ॥
(२१)
कैलेकाहीँ तिमिरपटमा जुन्किरी तान्छ धर्को
धर्को देख्दा क्षणिक, मनमा वासना जाग्छ चर्को ।
लिन्छू, कापी, कलम कलना-तन्तुको तान बुन्छु
बुन्दाबुन्दै किनकिन उठी गुन्गुनाएर रुन्छु ॥
(२२)
आँसू बग्छन् चटचट गरी तानमा तन्तु टुट्छन्
आतस्बाजी विविध मुटुमा पट्पटाएर फुट्छन् ।
झिल्का झल्के झललल कठै !! अन्त्यमा फुस्स सारा
कस्को कस्को ? श्रवणपुटमा घुम्छ अर्कै पुकार ॥
(२३)
लाखौँलाखौँ ध्वनिकण घना शून्यमा सर्र उड्छन्
उड्दा उड्दै तम-जलधिमा गैर्ह चुर्लुम्म बुड्छन् ।
पक्रूँ भन्छू म सब तिनको तथ्य वा सत्य सार
अत्तोपत्तो नमिलि बिचमा लोट्छ लाटो विचार ॥