This page has not been proofread
(१२)
मर्यादाको त्याग गरी सागर सात
उर्लून् छोप्दै पर्वतवर्ती रुख-पात ।
जस्तै हाहाकार उठोस् त्यो क्षयकारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१३)
पृथ्वी एकछत्त गराईकन सारा
झर्दै वर्षून् लाखन लम्बे जलधारा ।
त्यो वर्षाको भीति र चिन्ता पर सारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१४)
चाहे बाह्रौँ वर्ष नवर्षोस् जल-वृष्टि
चाहे ज्वालारुप बनोस् यो सब सृष्टि ।
छाती साह्रो वज्र-बराबर पारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(१५)
चाहे डाँवाडोल बनोस् त्यो ग्रहगोल
चाहे कालो काल बजाओस् लय-ढोल ।
चिन्ता सारा दुर्घटनाको पर सारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥