This page has not been proofread
(४)
चाहे होऊन् मानिस आफूसित लट्ठ
चाहे छोडून् औसर पारी सब झट्ट ।
एकैनासे व्योम सरी भै अविकारी
कर्तव्यैमा डुब्दछ सच्चा धृतिधारी ॥
(५)
बाबू, आमा, पुत्र र पत्नीहरु आई
फालै हालून् पाउ समाई समझाई ।
सारालाई शान्त गराईकन टारी
कर्तव्यैमा बढ्छ अगाडि धृतिधारी ॥
(६)
कस्तै लागून् दुःसह सांसारिक शूल
कस्तै पापी दैव बनोस् त्यो प्रतिकूल ।
खाली एकै लक्ष्य लिई त्यो अधिकारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
(७)
चाहे देऊ दिव्य विलासी दरबार
चाहे घाँटी-माथि बसाऊ तरवार ।
श्रद्धा सुर्ता लिन्न कुनै निर्भय चारी
कर्तव्यैमा चल्छ सदा त्यो धृतिधारी ॥