This page has been validated
सरस्वती-स्मृति
(१)
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना,
गरी लाखौँ झिक्ती स्वर-मधुरिमा स्मेरवदना ।
रसीलो फक्रेको हृदय-कमलै आसन गरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
(२)
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी
जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी ।
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
(३)
सुनेको, देखेको, अनुभव गरेको जति कुरा
कुनै आधा मात्रातक पनि नछोडी सब पुरा ।
छपाई राखेको स्मृतिमय महापुस्तक धरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥