This page has been validated
गणेश-स्तुति
(१)
जय गणनायक ! मेरो
हृदय-कमलमा सदा गरी वास ।
दिनमणिले तमको झैँ
गरिदिनुहोस् ! सकल विघ्नको नाश ॥
(२)
प्रभुको सुर, मुनि सबले
निज निज शुभकर्म-सिद्धिको लागि ।
वन्दित चरण-कमलमा
मन-भुमरो होस् अनन्य अनुरागी ॥
(३)
ऋद्धि र सिद्धि दुवैले
सेवित, शिव-पार्वती-तपः-सार ।
प्रभुको उद्भव-लीला
सम्झी मन हुन्छ गद्गदाऽऽकार ॥