This page has been proofread
विज्ञानको मोह
(१)
सानू विज्ञान पैले जुन उदित हुँदा साहसी मर्त्यजाति
गर्थ्यो छाती फुलाई पल-पल सुखका कल्पना भाँति-भाँति ।
सोही उन्मत्त भस्माऽसुर बनि अहिले बाहु लम्बा पसारी
पीछा गर्दो छ दौडी विकट मुख लिई सर्वसंहारकारी ॥
(२)
जस्को निःसार बोक्रे चहलपहल वा रङ्गमा दङ्ग मानी
भुल्दामा पेट-पूजा-विधि विकट बन्यो भार भो जिन्दगानी ।
उस्कै आराधनामा अझ किन यसरी मर्छ यो मर्त्यजाति
कस्तो विश्वास, भक्ति, प्रणय, शिव ! हरे ! तुच्छ विज्ञानमाथि ॥