This page has been proofread
विश्रामघाटको पवित्र स्मृति
(१)
भोगाऽऽशाको धमीलो भल पसि बढदा लोभको भेल भारी
पारी दुर्भावनाका पल-पल भुमरी, क्षोभका छाल मारी ।
कालिन्दी घोर काली विषय-रसमयी नित्य उर्ली बहन्छिन्
को तर्ने आँट गर्ने मकन अब भनी कानमा स्पष्ट भन्छिन् ॥
(२ )
जो हुन् सन्तोष-शान्ति द्रुम दुइ तटका ती ढले जोरसङ्ग
दम्भ-क्रोधाऽऽदि गोही विकल हृदयमा भर्दछन् मृत्यु-रङ्ग ।
सङ्के डुङ्गा र फट्के सब शम दमका, लाग्न थाल्यो उचाट
त्यो फेला पर्न सक्ला कसरि अब हरे ! दिव्य "विश्रामघाट" ॥