Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/13

From Nepali Proofreaders
This page has been proofread

१८६९ साल हो । हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्‌ । इन्को जन्मस्थल तनहूं देशका चुंदी बेसीको रम्‌घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्‌, जुन्‌ श्लोकलाई म ञहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर्‌ लेखी दिन्‌छु–


भानूभक्त भनी प्रसिद्ध नरमा जस्को त नाऊँ पनि ।
घर्‌ तिन्को तनहूँ त बेसि चुंदि हो गाऊँ छ रम्‌घा भनी ॥
प्रख्यात्‌ छन्‌ सब लोकमा ति गुणि हुन्‌ विद्वान्‌ कवी खुब् थिया ।
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥[1]

  1. यो श्लोक भानुभक्तले बनायेको ह्वैन भनी कसैले पनि शङ्का नगर्नु । यस्मा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब्‌ कवि भानुभक्तको क्या हो भने यसरी लेखेदेखिन्‌ पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।