भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"
लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसि राखेका रहेछौ ।"
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको । उहाँहरूलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।"
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको अनुग्रह देखेर सार्है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर सोमत साथ भने ।