Jump to content

Page:Ek chihan.pdf/30

From Nepali Proofreaders
This page has been proofread

सुब्बा सुरमानका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । राम बहादुर सुब्बा सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परि आएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि राम बहादुर नै गर्दथे । राम बहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम बहादुरले भने– "आजकल देशी तान आइ रहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैयन् गज बुन्न सकिन्छ, त्यही किन न ।"

"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।

"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" राम बहादुरले मुसुमुसु हाँस्तै भने ।

"त्यो पनि धनीहरूकै निम्तिको कुरा हो, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडि सकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।

"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइ दिन सक्तछु । सुब्बा साहेबसँग ऋण मागि दिउँला, त्यसैबाट कमाएर तिरि देऊ ।"

"सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइ रहेछ, कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने ?"

"म लिइ दिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" राम बहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर 'हुन्छ' भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने लतमाया सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।

सफलताको छाया देखेर राम बहादुरले भने– "म सुब्बा साहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइ दिने छु । बडो गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;