Jump to content

Page:Ek chihan.pdf/29

From Nepali Proofreaders
This page has been proofread
दश

अष्ट नारानको मृत्युपछि शिव नारानले घरको नेतृत्व लिए, खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै भात खाएर दिनभरिलाई चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिव नारान दिनहुँ खेतमा गई काम गर्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिव नारानले अनुचित ठहराई आमालाई घरैमा आराम लिन लगाइ राखेका थिए । उनले बहिनी नानीथकुँलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।

आमा छोरी दुई जना घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइ राख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिव नारानले लतमाया र नानीथकुँलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रि रहेको थियो । तर अफसोसको कुरा छ, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।

एक दिन लतमाया र नानीथकुँ तानमा कपडा बुनि रहेका थिए । समय दिउँसो दुई बजे थियो । रुमालले गालाका पसिना पुछ्तै आफ्ना तल्सिङ