Jump to content

Page:Ek chihan.pdf/116

From Nepali Proofreaders
This page has been proofread

उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, झार बढ्‌नाले बिरुवाको स्वास्थ्य नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलि रहेको धानमा पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनुँ भने धान एकदम कम हुन्छ ।" शिव नारानले भने ।

"भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौँ ? कुन किसानले दरबार बनाउन सकेको छ ? 'खेत' भनी सधैँ यसरी मरि रहेका छौँ । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ वर्षामा कति दिन विना एकादशी पनि उपवास र निराहार उत्तिकै बस्नु पर्छ ।" मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।

"खान त पाएनौँ हामीले, लौ हो भनौँ, तर संसारलाई ख्वाउन त पाएका छौँ– यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?" शिव नारानले पनि हाँस्तै भने ।

"लौँ हिँड्नोस्, तपाईंसित को कुरा गरि रहन सक्छ ?"

हाकुमाया र शिव नारान दुवै मिलेर खोजी खोजीकन खेतमा झार, घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर झार उखेल्ने काममा लागि रहेका थिए, जसलाई दुःख होइन, शिव नारानले तालिम सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिव नारानले आफ्ना छोराछोरीहरूसित कुरा गरि रहेका थिए– "यस पालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो मिहिनेत अनुसार खेतमा पुरै बाली फल्ने छ । घर पनि हामी यस पालि काइदासाथ मर्मत गर्ने छौँ । हर्ष नारान र नानीथकुँको बिहेको भोज पनि ख्वाउन बाँकी छ । बाली काटि सकेपछि अलिकति धान बेचेर भए पनि यस पालि त एक चोटि सिनेमा पनि नहेरि छोड्दिनँ ।"

"बा ! हामी पनि सिनेमा हेर्छौं ।" लाडे भावमा केटाकेटीले भने ।

"हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यस पालि म बाइस्कोप देखाउन लैजान्छु ।" शिव नारानले भने ।

"साँच्ची, एकचोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के[1] गर्नै पर्छ । नेपालमा सिनेमा आएको यतिका वर्ष भइ सक्यो, आजसम्म हेर्न पाएको छैन ।" हाकुमायाले भनिन् ।

  1. कहिल्यै प्राप्त वा अनुभव नभएका कुरा पाउनु वा अनुभव प्राप्त गर्नु (नेवारी शब्द) ।