भाइ बहिनीहरूको व्यवहार सिद्धिई हलिङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिव नारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरे अनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालि सकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालि सकेका हुन् कि जस्तो लक्षण देखा परि सकेको छ ।
शिव नारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरि रहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिव नारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि रहन आह्वान गरि रहन्थे । उनी हाकुमायालाई भन्थे– "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।"
"तपाईं त मलाई सधैँ सुतेर खाइ रहेकी छ जस्तो कुरा गर्नु हुन्छ, के त्यस्तो आराम लिइ रहेकी छु मैले ?" एक दिन हाकुमायाले झर्केर भनिन् । "लौ न त आराम लिएकी छैनौ भने जाऔँ न काम गर्न ।" अलि ठट्टाको भावमा शिव नारानले भने ।
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।
"खेतमा धानको शत्रु झार केलाउनु छ । एउटा एउटा झार खोजी खोजीकन उखेल्नु पर्छ हाकुमाया । झार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ,