Jump to content

Page:Champa.pdf/7

From Nepali Proofreaders
This page has been proofread

"माक्क ! मोरी !" भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले टोकिन्, तव ती दुई बुहारीहरू सासूको काठाभित्र पसे ।

अक्सर बूढाबाजेलाई संसारसँग रीस, डाह लाग्दैनथ्यो । उनी शान्त, गम्भीर थिए । तर यो उत्ताउली वयसीहरूको खिसीटेप्लीले उनलाई आफ्नो धार्मिक कल्पनाको जगत्‌बाट अलिकति यस संसारतर्फ सचेत गराइदियो । बूढाले सोच्न लागे । 'आजकालका ठिटीहरू के विघ्न उत्ताउला ! अलपक्का नजडी आङ नहिलाई, आँखा नतर्की, नचलमलाई त हिँड्नै नसक्ने । कति सिँगारिनुपरेको ? सेतो छाला छँदैछ… बस, गुलाफउपर रङ्ग थप्याझैँ हेरन कति बाक्लो फा ! अनि लाली । नकलीपनाको यत्रो चहलपहल । रेशमी चूरी… ल… हेरन कपालका पत्ती… मुन्द्रा बटार्छन् बा ! दिनभरी कप्टेरो सेकाएर… भौँ टिप्या' छन् उस्तै… नामै त कामिनी अब… कुरकुरे बैँस… कति हाँस्नुपर्‍यो ल … जे देखे पनि कुतकुती लाग्या' छ, लाग्या' छ… ससुरा भनेर रोकिने हुन् र ? … माक्क मोरी… भनेर हिँड्छन् ए ! कस्ता बेशरम ल ! यिनको माकल हुन आए अब ए चपलचन्डी हो … ।'

तर बूढाले उठ्दो रीस दबाए… यी यस्तै हुन्, सेती पाडीहरु' भनेर चित्त बुझाए । उनी खूब राम्रा, लायक थिए आफ्नो बैंसमा । उनलाई रुपको मोहनीले नै राजाले सुब्बाङ्गी दिएका थिए ।

'ए ! सुब्बा हुन लायक त यिनी पो रहेछन् ए जेठ्ठा ! यस्तो रातोपिरो, मोटोघाटो मान्छे पो सुहाउँछ कसो ?'

'महाराज !'

'होइन त ? … हेर्न यिनको बल्दो चेहरा, रातोपिरो मान्छे मात्रै मन पर्छ ए मलाई त ! च्याँसे सुब्बाले कल्की भिर्‍या' राम्रो देखिन्छ त !'

'सुब्बाङ्गी बक्सिन खूब लायक हुन् सरकार !'

'अँ : ऐना-स्रेस्ता हेर्‍या' छौ पण्डित ?'

'ल… चौबीस सयको मीरसुब्बा भयौ… रुपियाँ राख ।'

बस… त्यो जमाना कहाँ गयो, अब यी मुकुन्डीहरूले खिर्रखिर्र गरेर हँस्सी उडाउन लायक रे ए आज त ! … तरुनीहरू हाम्रा टायममा