Jump to content

Page:Champa.pdf/6

From Nepali Proofreaders
This page has been proofread
अध्याय १
बालचिन्ता

लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरेजस्तो भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे ।

नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको खुल्ला पुस्तकमा बराबर चिनो लगाउँथे । बराबर थुक लगाउने बानी थियो ।

कोठा थियो पैसावाल मध्यवर्गीय । मैलिएको टर्की कार्पेट चार किनारमा । बीचमा सत्रंजा… ढोकानेर फुट-रग । एउटा टेबिल पनि थियो दक्षिणतर्फ भित्तामा । उत्तरतर्फ रातो पालिसदार बुट्टा काटेको बन्द दराज । अगाडि सेता, सफेद दुइटा चकटी । टेबिलउपर एक ऐना थियो…। टेबिलमा दुइटा काँचका फूलदान र एक रिकापीमा चारौटा मोसम । भित्तामा तल्लो एकहत्ती भाग गाढा नीलो थियो, उपर फिका नीला तस्बिरहरु टाँगिएका थिए । एउटा श्रीकृष्णको… राधिकासँग यमुनातीरमा अधनङ्गा हँसिलो मुरली-लीलामा… । एउटा ईसामसीहका चित्र, जीवनको दश भागको चित्रण, एउटा सरस्वती; अर्को विष्णुभगवान्‌को विश्वरूप । सफाइ बेकसिँङ्गर थियो । ठूलो बालिस्टको आड लिएर सुब्बाबाजेले ओठमा सिसा लगाए । ठीक यसै बेला चुनु र बुलु दुई बुहारी भित्र पसे । चोसे मुख लगाएर बूढाले गौड गरेको देखेर चुनुले चञ्चले कुतकुत्याइलो बैँसको छातीबाट हाँसो फुट्यो, उनीले दबेको स्वरमा देब्रे हातका चोर-माझीले मुगाओठ छेकेर खिर्खिराइन् ।

बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् "जा मोरी ! के विघ्न उत्ताउली……?"