देखिन् । उनलाई भयङ्कर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? … एक किसिमको अस्पष्ट डर । वैधव्य ? … चुरापोते नभएको । श्रृङ्गारहीन, कालो धागोले सजिएको पाउडरहीन, पहेँलो गोधूली मुहार वैधव्य सेतो चन्दन र जपमाला लिएको वैधव्य ! जीवनमा उनलाई श्रृङ्गारहीनताको खतराभन्दा ठूलो अर्को खतरा जँच्दैनथ्यो ।
चम्पालाई बराबर केके उकुसमुकुस भएझैँ हुन्थ्यो । उनी बराबर मुठी बाटेर बटारिन्थिन् । अनि भुल्थिन् सब कुरा । अनि गीता पाठ गर्थिन् । अनि फेरि बगैँचामा गएर पक्क परेर हेरिरहन्थिन् भँवरा र फूललाई । उनको कमलकोमल मांसपुष्पबाट अझ अदूषित कुमारी सुगन्ध बहिरहेको थियो । शायद यो च्याखुराहरूको जुनेली चेतले बुझ्न सक्तथ्यो ! यस वेला, यस बैँसमा भँवरा मीठो हुन्छ ! कानमा मधुर प्रशंसा, त्यो थिएन । कोही तिमी यती राम्री छ्यौ भनेर कानेखुसी गर्नेसम्म पनि थिएनन् । स्वामीजी टोखामा भर्ना भएका थिए । चम्पा केही वस्तुको अभावले छटपटाउँथिन् पनि । केही चीजको भावले सशङ्क पनि । उनको कसुरविना केही चीजसँग गाँसिएर उनको जीवनलाई पनि टि.बी. लागेको थियो ।
चम्पाले सोचिन्– "के मेरो जीवनको सौगात यत्ति हो ? यो रूप, यो रङ्ग, यो निराशा ?" स्वामीले बिदाइमा दिएको वचनउपर उनले गौड गरिन्– "आजाद भयौ !… आजादी भन्या के होला ?"
… उनले एउटा केटाकेटीद्वारा मास्टरसँग सोध्न पठाइन् । उसले माने
बताइदियो– "स्वतन्त्रता" । स्वतन्त्रताको पूरा अर्थ चम्पालाई थाहा थिएन, जस्तो धेरै स्वतन्त्रताको नारा लगाउने मनुष्यहरूलाई पनि ।
उनले बुझिन् स्वामीजीले उनलाई अमलेख गरिदिएका रहेछन् तर यो अमलेखीको माने चन्द्रशासनमा कमाराकमारीलाई थाहा नभएझैँ उनलाई पनि राम्ररी थाहा भएन । यो ज्यादा अस्पष्ट चीज थियो– आग्राह्य ।
चम्पाले भनिन्, "चित्त दुखेर भन्या होला !"
त्यस दिन सिनेमा जाने प्रोग्राम थियो । चम्पालाई सिनेमा हेर्न झन् झन् रहर लाग्यो । माइतीबाट प्रशस्त पैसा पाउँथिन् ।