संशोधन गर्नाको लागि हाम्रो मोलतोल ठीक छैन । हाम्रो अङ्ग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लन्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौँ । हामी अक्षरकीट हौँ । शोपेनहारसाहेबले मात्र शिक्षकवर्ग– हामीलाई चिनेका छन् । हा ! म मूर्ख बङ्गाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म कस्तो मूर्ख !
उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर भने, "प्यारी कीचक ! मेरो इतिश्री भयो । म बिग्रेँ । आयु चार महिना छ । तिम्रो जीवन स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह गरे । तिमी पढ । तिमीलाई पढ्न र बुझ्न व्यक्तित्व हासिल गर्नाको जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी. लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ, चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट आजाद भयौ ।"
चम्पाले जानिनन् किन तर उनी रोइन् बर्र तीव्र सहानुभूतिले साथीसँग छुट्टिने बेलामा रोएझैँ ।
प्रेमको प्रारम्भ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी भन्ने नामानुसार उनमा मान्नुपर्ने भन्ने भावनासम्म रहेको थियो तर त्यो आँसुदार, जल्दो, जाग्दो, वियोगज्वलित भाव, त्यो मधुर आनन्दको स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ – त्यो थिएन । न साधारण तवरले यस्तो चीज कुनै घरमा – कुनै सुवासीनी लोग्नेको विवाहित जीवनमा– पूर्वीय देशमा अक्सर प्राप्य छ । विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदैछ, तर प्रेमको शुरु नै नहुनु खास पूर्वीयता हो ।
रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने-विचार्नेहरू । आमाका आँखा हरहमेशा भिज्दथे । दिदीबहिनीका पनि । तर रामकान्तले सारा पुरुष, स्त्री, घरबार, वस्तुलाई परदेशी ठहर्याए । अब उनको आत्मा ईश्वरचिन्तनमा अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना