Jump to content

Page:Bhanubhaktako ramayan.pdf/69

From Nepali Proofreaders
This page has not been proofread

इच्छा थियो प्रभुजिको पनि बिन्ति सूनी ।
जानू असल् छ भनि यो मन भित्र गूनी ॥
हात्मा धनू लि मृगका पछि आफु धाया ।
लक्ष्मण्जिलाइ बस तीमि भनी अह्राया ॥७२॥

लक्ष्मण् रह्या तहिं सिता सित चौकिदारी ।
मारीचलाइ प्रभुले पनि खुप् लघारी ॥
मार्या तहाँ जब त दिक् बहुतै गरायो ।
हे भाइ लक्ष्मण मर्याँ भनि छल् करायो ॥७३॥

छल्का वचन् सुनि सिताजि बहुत् डराइन् ।
लक्ष्मण्जिलाइ तिमि जाउ भनी अह्राइन् ॥
लक्ष्मण्जिले हुकुम यो सुनि बिन्ति पार्या ।
हे माइ जो मृग थियो प्रभुले त मार्या ॥७४॥

तेस्तो कहाँ मृग थियो मृगरूपधारी ।
मारीच राक्षस थियो र त आज मारी ॥
ठाकुर्जिले तहिं गिराइ दिंदा करायो ।
हे भाइ लक्ष्मण मर्याँ भनि छल् गरायो ॥७५॥

ज्योतिस्वरुप् तहिं भयो र मिल्यो हरीमा ।
आश्चर्य भो सकललाइ तसै घरीमा ॥
यस् दुष्टले पनि त यो गति आज पायो ।
भन्न्या बुझेर सब जन् कन हर्ष आयो ॥७६॥

लक्ष्मण्जिका वचन सूनि सिता रिसाइन् ।
आँसू बहुत् नजर देखि पनी खसाइन् ॥
बोलिन् अवाच्य पनि लक्ष्मणलाइ ताहाँ ।
भज्ली मलाइ भनि भन्छ कि आज याहाँ ॥७७॥