Jump to content

Page:Bhanubhaktako ramayan.pdf/54

From Nepali Proofreaders
This page has not been proofread

दिया सूचन् राम्ले गुरु कन बुझाऊ तिमि भनी ।
गुरूले एकान्तै लगि कन भरत्जी कन पनी ॥
बुझाया बात् खोली कन सुन इ जो हुन् रघपति ।
जगन्नाथ् साक्षात् हुन् त्रिभुवनपतीका अधिपति ॥१०८॥

अघी ब्रह्माजीले सकल भुमिको भार् हर भनी ।
स्तुती गर्दा खुस् भै सुन म हरुँला भार् पनि भनी ॥
भन्याको हूनाले उहि वचन पालन् गरुँ भनी ।
प्रभू जान्छन् वन्मा पछि त सुन फिर्छन् घर पनी ॥१०९॥

प्रभूकै इच्छा हो नतर कसरी कैकयि पनी ।
वनै जाउन् भन्थिन् प्रभु कन रती तुल्य न गनी ॥
कुरो यस्तो जानी न गर तिमि यो आग्रह यहाँ ।
भूमीको भार् टारी कन पछि त जान्छन् प्रभु कहाँ ॥११०॥

रावण् मारि उतारि भारि भुमिको फिर्छन् जगन्नाथ् भनी ।
यस्ता हुन् रघुनाथ् भनेर गुरुले खोलेर गुह्यै पनी ॥
सब् विस्तार गरी दिया र गुरुका वाणी सुनी खुस् भया ।
फर्क्यानन् रघुनाथ भनी मन बुझ्यो राम्का नजिक्मा गया ॥१११॥

हे नाथ् तत्त्व सुन्याँ म फिर्छु अब ता जान्छू अयोध्या महाँ ।
पूजा गर्न दिनू हवस् हजुरका एक् जोर् खराऊ यहाँ ॥
यस्तो बिन्ति गरी प्रणाम् वरिपरी घुम्दै भरत्ले गर्या ।
आफ्ना साफि खराउ दी प्रभुजिले सब् ताप् भरत्को हर्या ॥११२॥

फेरी बिन्ति गर्या तहाँ भरतले लौ फिर्दछू फिर्न ता ।
चौधे वर्ष समाप्ति पारि न फिर्या मन्र्याछु साँचै म ता ॥
यो बिन्ती सुनि लौ भनी भरतका साम्ने हुकुम् भो तहाँ ।
कैकेयी रघुनाथका चरणमा रूँदै परिन् खूप् तहाँ ॥११३॥