यस्तो भरत्ले जब जिद्दि लीया ।
उत्तर् प्रभूले पनि फेरि दीया ॥
फर्कन्न भैय्या तिमि फर्कि जाऊ ।
पिताजिलाई पनि दोष् न लाऊ ॥१०२॥
खुप् सत्यवादी त पिताजि थीया ।
साँचै हुनाले वरदान दीया ॥
सो पूर्ण गर्ना कन जान्छु वन्मा ।
साँचो कुरा हो बुझि लेउ मन्मा ॥१०३॥
उत्तर् प्रभूको सुनि दुःख मान्या ।
फेरी चरण्मा परि बिन्ति लाया ॥
फिर्नू हवस् ख्वामित बिन्ति गर्छु ।
यस् दण्डकारण्य विषे म जान्छु ॥१०४॥
यस्ता वचन् सूनि भरत्जिलाई ।
फेरि हुकुम् भो तिमि फर्क भाई ॥
यो राज्य साट्या पनि हुन्छ झूटो ।
हे भाइ गर्छौ किन आज भूटो ॥१०५॥
हुकुम् यस्तो सूनी भरत पनि राम्का चरणमा ।
परी बिन्ती गर्छन् म त रघुपते छू शरणमा ॥
चरण् बाहिक् एक् छिन् रहन पनि ताप् हुन्छ मनमा ।
न फर्क्या ख्वामित्का पछि पछि म ता जान्छु वनमा ॥१०६॥
न ता फर्की जान्या न त म कन लान्या वन पनी ।
भन्या मर्छू ख्वामित् अब अरु कुरो केहि न भनी ॥
भनी आसन् बाँधी जब मरणमा निश्चय धर्या ।
खुसी भै श्री रामले पनि अति दयालू मन गर्या ॥१०७॥
Page:Bhanubhaktako ramayan.pdf/53
Appearance
This page has not been proofread
