Jump to content

Page:Bhanubhaktako ramayan.pdf/51

From Nepali Proofreaders
This page has not been proofread

देख्या पाऊ पर्याको गह भरि बहँदा अश्रुधारा धर्याको ।
सब् राज्यै तृण् बरोबर् गरि कन बहुतै आफुमा मन् गर्याको ॥
यस्तो देखी कृपाले भरत कन तहाँ काखमा राखि लीया ।
यस्तो मन् हो भरत्को बुझि रघुपतिले खुप् कृपादृष्टि दीया ॥९०॥

श्री सीतापति माइका चरणमा राख्या र सिर् फेर् पिता ।
काहाँ छन् किन आज देख्तिन यहाँ क्या गर्दछन् छन् कता ॥
भन्दै खोजि गर्या पिता कन तहाँ श्री रामजीले जसै ।
सब् विस्तार वशिष्ठले भनि दिंदा शोक् गर्न लाग्या तसै ॥९१॥

गंगास्नान गरी तिलाञ्जलि दिया फेर् पिण्डदानै पनी ॥
फल् फुल्ले रघुनाथले तहिं दिया पाउन् पिताले भनी ॥
तेस् दिन्मा उपवास् गर्या जब बित्यो रात् फेरि गंगा गया ।
गंगास्नान् गरि फेर् फिरेर मढिमा आयेर बस्ता भया ॥९२॥

तहाँ सीताराम्का चरणतलमा सिर् पनि धरी ।
अयोध्यै लैजान्छु भनि कन ठुलो मन्सुब गरी ॥
भरत् बिन्ती गर्छन् किन रघुपते आज वनमा ।
हजुर्ले आयाको म कन अति ताप् हुन्छ मनमा ॥९३॥

ख्वामित् हजुर्को म त दास पो हूँ ।
यो राज्य गर्ना कन योग्य को हूँ ॥
यो गादि ता याहिं हजुरको हो ।
मैले त सेवा गरि बस्नु पो हो ॥९४॥

छोरा हुनन् यज्ञ बहुत् गरीनन् ।
सम्पूर्ण लोक्को पनि ताप् हरीनन् ॥
तब् पो ति छोरा सित राज्य छाडी ।
जानू असल् हो त छँदै छ झाडी ॥९५॥