Jump to content

Page:Bhanubhaktako ramayan.pdf/50

From Nepali Proofreaders
This page has not been proofread

अहो मेरा खातिर् वन वन सिताजी पति सँगै ।
कुशासन्मा सुत्छिन् न त यसरि सुत्थिन् अघि कतै ॥
अहो धिक्कार् मेरी जनमजननी कैकयि भइन् ।
इनैले गर्दैमा पति सँग सिताजी वन गइन् ॥८४॥

कहाँ छन् सीतानाथ् कति पर गया भेट्तछु कहाँ ।
छ केही मालुम् ता म कन कहु जान्छू अब तहाँ ॥
बताया जाहाँ छन् भनि ति गुहले राम् कन पनी ।
गुहैका सम्चार्ले खुसि पनि भया भेट्तछु भनी ॥८५॥

सब् विस्तार बताइ ताहिं गुहले गंगाजि तारी दिया ।
ताहाँ देखि भरत् चली पुगि गया जाहाँ भरद्वाज् थिया ॥
एक् दिन् ताहिं मुकाम् गर्या भरतले सम्मान् ऋषीले गर्या ।
बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् पर्या ॥८६॥

भोली बेर सबेर लस्कर लिई बीदा ऋषी थ्यैं भया ।
कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया ॥
खुस् भै लस्कर चित्रकूट गिरिका पौंच्या नजिक्मा जसै ।
खोज्या ताहिं भरत्जिले अघि गई डेरा प्रभूको तसै ॥८७॥

डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या ।
श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
भन्छन् धन्न्यै रह्याँछू सहज न मिलन्या पाउका छाप देख्याँ ।
ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥८८॥

यस्तो बोल्दै प्रभूका चरणधुलि विषे भक्तिले लट्पटींदै ।
कैल्हे पुग्छू कहाँ छन् भनि कन मनले दस् दिशा दृष्टि दींदै ॥
जाँदा ताहीं भरत्ले प्रभुजि कन जसै नेत्रले देख्न पाया ।
ख्वामित्लाइ आज पायाँ भनि कन खुसिले पाउमा पर्न धाया ॥८९॥