यस् पृथ्वीतलका ति क्षत्रिहरुको ठूलो विनाशै गरी ।
आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी ॥
पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी ।
राजाका मनमा विचार् यहि पर्यो छोरा बचुन् क्या गरी ॥१२४॥
यस्तो चञ्चल चित्तले परशुराम्का पाउतल्मा पर्या ।
मेरा पुत्र बचुन् प्रभो परशुराम् ! भन्न्या इ बिन्ती गर्या ॥
यस्तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्ता भया ।
राम्को गर्व हरूँ भनी परशुराम् राम्कै अगाडी गया ॥१२५॥
कस्को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू ।
भाँच्दैमा अति गर्व भो तँ कन ता धेरै कुरा क्या भनू ॥
यो ता हो हरिको धनू विर भया ताँदो यसैमा चढा ।
भन्दै खुप् रिसले रह्या परशुराम् राम्कै अगाडी खडा ॥१२६॥
ताँदो आज चढाउँछस् त यसमा सङ्ग्राम् तँ थ्यैं गर्दछू ।
सक्तैनस् तब हेर् म राख्दिन सबैको प्राण् सहज् हर्दछू ॥
यस्ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्या ।
पृथ्वी कम्प गराइ लोकहरुको सम्पूर्ण सातो हर्या ॥१२७॥
यस्तो क्रूर वचन् सुनेर रघुनाथ् क्रोध्ले अगाडी सरी ।
खोसी लीनु भयो धनुष् परशुराम्को त्यो बलैले गरी ॥
ताँदो जल्दि चढाइ बाण् पनि तहाँ लीनु भयेथ्यो जसै ।
ठूलो बल् रघुनाथको बुझि सबै खूसी भयो लोक् तसै ॥१२८॥
हूकुम् श्री रघुनाथको परशुराम्लाई भयो यो तहाँ ।
तारो आज बताउ हान्छु अहिले ब्रह्मन् ! म हानू कहाँ ॥
चाँडो उत्तर देउ यस् बखतमा यस्लाइ लौ हान् भनी ।
तारो क्यै न दिया त काट्छु अहिले तिम्रा इ गोडा पनी ॥१२९॥
Page:Bhanubhaktako ramayan.pdf/33
Appearance
This page has been proofread
