को सक्थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी ।
हिक्मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी ॥
राम्ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी ।
यो चीन्ह्याँ पनि सब् कृपा चरणले गर्दा भयाको भनी ॥११८॥
विश्वामित्रजि थ्यैं पनी जनकले बिन्ती अगाडी सरी ।
सीतानाथ् रघुनाथको स्तुति गर्या आनन्दमा ती परी ॥
दाईजो सय कोटि दौलत सहित् बेस् बेस् अयुत् रथ् दिया ।
घोडा ता सय लाख् दिया छ सय ता खुप् मत्त हात्ती थिया ॥११९॥
पैदल् लस्कर एक लाख् र सय तिन् केटी दियाथ्या जसै ।
पूजा फेरि वशिष्ठको पनि गर्या भारी डबल्ले तसै ॥
पूजा ताहिं भरत्जिको पनि भयो लक्ष्मण्हरूको पनी ।
इच्छा भो रघुनाथको अब फिरौं जाऊँ अयोध्या भनी ॥१२०॥
जानाको मतलब् बुझी जनकजी राम्का चरण्मा पर्या ।
खूसी मन् सबको गराइ बहुतै बीदा जनक्ले गर्या ॥
सीताजी महतारिका अघि गई आलिङ्गनादी गरी ।
लागिन् रून र सोहि सूनि सबका आँसू खस्या बर्बरी ॥१२१॥
सीताजी कन अर्ति यो पनि दिया सासू ससूरा सरी ।
अर्को छैन बडो यही बुझि गर्या तिन्को टहल् बेस् गरी ॥
स्त्रीको धर्म पतिव्रता हुनु ठुलो जानेर हूनू भनी ।
अर्ती येति दिया र तेस् बखतमा बीदा भया ती पनी ॥१२२॥
यै बिच्मा नगरा बज्या प्रभुजिका भेरी मृदङ्गा पनी ।
स्वर्गैमा पनि हर्ष भो प्रभु गया फेरी अयोध्या भनी ॥
राम्को लस्कर बाह्र कोस् जनकपुर् देखी जसै ता गयो ।
शङ्का चित्त महाँ बडो भय दिन्या उल्का बहूतै भयो ॥१२३॥
Page:Bhanubhaktako ramayan.pdf/32
Appearance
This page has been proofread
