Jump to content

Page:Bhanubhaktako ramayan.pdf/171

From Nepali Proofreaders
This page has not been proofread

कालाग्नी सरिका भयङ्कर स्वरुप् राम्को बनेथ्यो जसै ।
कामिन् पृथ्वि पनी भयङ्कर स्वरुप् देखिन् र राम्को तसै ॥
रावण्का पनि चित्तमा भय पर्यो उल्का बहूतै भया ।
क्या गर्छन् प्रभुले यहाँ भनि तहाँ सब् लोक् डराई गया ॥२५८॥

आकाश्मा बसि हेर्दथ्या जति थिया सब् देवतागण् पनी ।
कस्ता रित् सित मर्छ रावण यहाँ हेरौं तमासा भनी ॥
राम्को रावणको परस्पर तहाँ खुप् युद्ध ठूलो भयो ।
रात्रीको दिनको प्रकाश् न भइ काल् धेर् युद्ध हूँदा गयो ॥२५९॥

रावण्को सिर काट्नलाइ जब बाण् फेंक्या प्रभूले तहाँ ।
तालैका फल झैं गिर्या त पनि सिर् गीरेन पृथ्वी महाँ ॥
एकोत्तर सय सिर् गिर्या जति गिरुन् सब् बन्न लाग्या जसै ।
क्या भो आज भनी प्रभू कन पनी आश्चर्य लाग्यो तसै ॥२६०॥

ठूला दैत्य बडा बडा विर पनी जुन् बाणले मारिया ।
सोही बाण् पनि आज रावण उपर् ताकेर खुप् मारिया ॥
काट्छन् सिर् पनि बाणले र दस सिर् भैंमा खसाल्छन् पनी ।
फेर् ज्यूँका तिउँ सिर् हुन्या गरु कसो क्या भो यहाँको जनी ॥२६१॥

यो चिन्ता रघुनाथका जब पर्यो साम्ने विभीषण् गया ।
यो हेतू छ भनेर हेतु जति हो सब् बिन्ति गर्दा भया ॥
ब्रह्माको वरदान् छ सिर् खसि गया फेर् उम्रनन् सिर् भनी ॥
फेर् अम्रित् पनि नाभिमा छ तब यो मर्दैन काट्या पनी ॥२६२॥

त्यो अम्रित् सब सोसि बक्सनु हवस् सब् सुक्छ अम्रित् जसै ।
चाँडै त्यो मरि जान्छ तेस् बखतमा उठ्तैन फेरी कसै ॥
हात् जोरेर जसै विभीषणजिले यो गुह्य खोली दिया ।
ठाकुर्ले पनि अग्निबाण झट्पट् हानेर सोसी लिया ॥२६३॥