अब त जसरि मेरो हुन्छ सो हित् चिताऊ ।
बुझि कन सबले एक् मन्त्रणा लौ बताऊ ॥
तिमि सब कन नाघी काम सिद्ध्याइ भाग्यो ।
म कन त हनुमान्का कामले लाज लाग्यो ॥२४॥
यति हुकुम सुनी सब् घोचिया झैं ति जाग्या ।
अघि सरि सरि बिन्ती सेखिका गर्न लाग्या ॥
किन बहुत हजुर्को तेहि राम् देखि शङ्का ।
कसरि सहज जित्ला रामले आज लङ्का ॥२५॥
कति विनति गरौं धेर् इन्द्रजित् पुत्र जस्को ।
छ त कसरि ति जित्छन् पुग्छ जोर् आज कस्को ।
फगत हजुरका एक् पुत्रले इन्द्र जीत्या ।
यहि बुझि अरु दिग्पाल्का समेत् सेखि बीत्या ॥२६॥
अधिपति मय हुन् सब् दैत्यका सो डरैले ।
खुरु खुरु यहिं आई छोरि सुम्प्या करैले ॥
अरु अब कहिं छन् क्या विर् हजूरै सरीका ।
सब विर वश मै छन् ई तिनै लोक् भरीका ॥२७॥
अलिकति हनुमान्ले जो यहाँ वीर मार्यो ।
कुदि कुदि सब लङ्का पोलि जो ध्वस्त पार्यो ॥
उ त फगत यसैले गर्न क्या सक्छ भन्दा ।
चुकि दिइ गरि हाल्यो फेरिको क्या छ धन्दा ॥२८॥
हुकुम दिनु हवस् लौ दस् दिशा वीर जाऊँ ।
जति जति अघि सर्छन् मारि तिन्लाइ आऊँ ॥
सकल पृथिविमाका वानरै छुट्टि गर्छौ ।
सकल हजुरको ताप् एक् क्षणैमा त हर्छौ ॥२९॥
Page:Bhanubhaktako ramayan.pdf/132
Appearance
This page has not been proofread
