Jump to content

Page:Bhanubhaktako ramayan.pdf/129

From Nepali Proofreaders
This page has not been proofread

यो फौज् वानरको ठुलो छ बलियो लड्न्या छ घूँडा धसी ।
अग्नीमा पनि पस्नु पर्दछ भन्या पस्न्या छ कम्मर् कसी ॥
सागर् तर्न उपाय मात्र त हवस् यो फौज् त जावस् तरी ।
रावण् मार्न कठिन् छ क्या सहजमा मारिन्छ येसै घरी ॥६॥

मेरा चित्त महाँ त यो छ रघुनाथ् साम्ने हजुर्मा परी ।
लड्न्या विर् कहिं छैन बिन्ति गरियो सारा तिनै लोक् भरी ॥
हाम्रो निश्चय जित् हुन्या छ बढिया देखिन्छ लक्षण् पनी ।
माछौं राक्षसलाइ आज सहजै साना भुसूना गनी ॥७॥

सुग्रिव्का इ वचन् सुनी हुकुम भो श्री रामजीको तहाँ ।
जुन् पाठले तरिइन्छ सो गरियला कस्तो छ लङ्का महाँ ॥
लङ्काको अकबाल् सुनौं त पहिले कस्तो छ तेस्को तखत् ।
सब् बूझी कन पो गया जितियला यै हो विचार्को बखत् ॥८॥

ठाकुर्का इ वचन् सुनेर हनुमान् ताहाँ अगाडी सरी ।
भक्तीले गरि अञ्जली पनि बहुत् नूहेर सिर्मा धरी ॥
गर्छन् बिन्ति जगत्पते रघुपते लङ्कापुरी सुन्दरी ।
देखिन्छे जति देख्तछन् ति सबको लिन्छे सबै मन् हरी ॥९॥

त्रीकुट् पर्वत्का उपर् छ सुनको पर्खाल छ चारों तरफ् ।
थामै छन् मणिका जउन् घर महाँ देखिन्छ तिन्को हरफ् ॥
एक् खावा त समुद्र भो अरु नजिक् अर्को खन्याको पनी ।
पर्खाल्का नजिकै छ बेस् वरिपरी वैरी न आउन् भनी ॥१०॥

घर पनि सुन कै छन् गल्लि जो छन् सुनैका ।
मणिजडित हुनाले झन् असल् छन् कुनैका ॥
घुमि घुमि कन हेर्याँ सब् बघैंचा तलाऊ ।
सहज सित कसैको केहि लाग्दैन दाऊ ॥११॥