लेख्ने बानी
मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थें र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई सपनाका दुनियाँमा डुबाउँथें ।
तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा शायद फोस्रो मृगतृष्णासिवाय केही हुन सक्ला र ? सत्यको भन्दा झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन् र उनको जीवन सफल हुँदो छ। म किन सत्यको सती जाऊँ जब सत्यलाई दुनियाँ आगो हुन्छ र असत्यलाई पानी ?
तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन् । मैले झूटो बोल्न खोजें भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा टप्किहाल्दथ्यो । मैले छकाउन खोजें भने छकाउनको इच्छा त्यसै शर्माएर भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा लाग्दथिन्, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू शिथिलाउँथे ।
यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल खोजसिवाय ईश्वरले केही अरू दिएको बुझिन्न । यो विशाल विश्वमा