हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्त प्रसादले भने ।
जबाफ नदिईकन नानीथकुँ चुप लागि रहिन् । एकै छिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने– "किन नबोलीकन चुप लागि रहेकी नानीथकुँ ?"
"मैले नकाम गरि रहिछु डाक्टर साहेब !" अलि दिक्दारी भावमा नानीथकुँले भनिन् ।
"किन नानीथकुँ । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"मैले प्रेम नगरीकन पाप गरि रहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरि रहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनु हुन्छ ।" अलि अफसोसको भावमा नानीथकुँले भनिन् ।
एक छिन पुलुक्क डाक्टर गोदत्त प्रसादको अनुहारमा हेरी नानीथकुँ मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्– "भात पकाउने वेला भइ सक्यो, तपाईं जानोस् डाक्टर साहेब ! कदाचित् आमा आउनु होला ।"
डाक्टर गोदत्त प्रसाद एक छिन अलमल्ल परे जस्ता भए । अनि फेरि नानीथकुँले भनिन्– "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"